‘समृद्ध मादी, सुखी मादीवासी’को नारा साकार पार्न ठूला योजना प्राथमिकतामा
पाेखरा | असार ७, २०७९
पोखरा : कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा पूर्वाधार विकासतर्फ ठूला योजना छनोटलाई प्राथमिकतामा राखेको छ ।
गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले सोमबार गाउँसभामा आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साना योजनालाई निरुत्साहित गरिने बताउँदै ‘समृद्ध मादी, सुखी मादीवासी’को नारालाई साकार पार्न ठूला योजना सञ्चालन गरिने बताउनुभयो ।
उहाँले विकास निर्माणलाई दिगो बनाउन साना तथा टुक्रे योजनामा बजेट विनियोजन गर्दा दीर्घकालीन उपलब्धि हासिल नहुने हुँदा यस्ता कार्यमा नियन्त्रण गरी ठूला योजना छनोटलाई प्राथमिकतामा राखिएको बताउनुभयो । आन्तरिक सुशासन र सवल प्रशासनको प्रवद्र्धन गरी सेवा प्रवाहमा प्रभावकारिता कायम गर्ने, पर्यटन विकासबाट लाभ प्राप्त गरी सबै क्षेत्रसम्म पु¥याउने पारित कार्यक्रममा उल्लेख छ ।
वन जङ्गलको संरक्षण गर्दै भू–क्षय नियन्त्रण, विपद् व्यवस्थापन र वातावरणीय सन्तुलनलाई कायम राख्दै स्थानीय पूर्वाधार निर्माणमा लगानी वृद्धि गरी सडक सुधार गर्दै नियमितरूपमा यातायात सञ्चालन गर्नेतर्फ गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम केन्द्रित रहेको छ ।
स्वास्थ्य बीमामार्फत विशेषज्ञ सेवाको सुलभ पहुँच सुनिश्चित गर्दै थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा बि–फार्मेसी सञ्चालन, गाउँपालिकाका स्वास्थ्य संस्थाहरूबाट निःशुल्क गर्भपतन सेवा विस्तार र महिलाहरूको पाठेघरको मुखको क्यानसरको निःशुल्क परीक्षणको व्यवस्था गरिने कार्यक्रम छ ।
गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका युवा जनशक्तिलाई पुनः विदेश जान नपर्ने गरी रोजगारीका अवसर सिर्जना गर्ने प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषि क्षेत्रलाई सबल बनाउन युवा जनशक्तिको भरपूर उपयोगमार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी आयआर्जन बढाउन उत्पादनमा आधारित अनुदानजस्ता जनमुखी प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा जोड दिएको छ ।
प्रदेश सरकारसँगको साझेदारीमा माटो परीक्षण शिविर सञ्चालन गरी माटोको प्रोफाइल तयार गर्ने तथा माटो सुहाउँदो खेती बाली लगाउन प्रोत्साहन गर्ने र कृषक, कृषि समूह, सहकारीको सहकार्यमा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।
स्थानीय स्रोत, साधन र सीपको प्रयोगलाई बढावा दिई व्यावसायिक उत्पादनतर्फ अग्रसर गराउन राडी पाखी, कम्बल, भाङग्रा, स्वीटर, झोला बनाउने तानहरूलाई आधुनिकीकरण गरी व्यावसायिक उत्पादनतर्फ अग्रसर गराउने र स्थानीय वन पैदावर, प्राकृतिक स्रोत साधन, जडीबुटीमा आधारित उद्योग स्थापना गर्न लगानीकर्तालाई उचित वातावरणको व्यवस्था गरिने नीति कार्यक्रममा उल्लेख छ ।
यसैगरी सङ्घ र प्रदेश सरकारसँगको समन्वय र साझेदारीमा पर्यटकीय गन्तव्यहरूमा रञ्जुमार्ग (केबुलकार), पदमार्ग, लिफ्टिङ खानेपानी, क्याम्पसाइड, सोलारबत्ती, मोबाइलटावरजस्ता पूर्वाधार निर्माण गर्दै लैजाने व्यवस्था मिलाइने अध्यक्ष गुरुङले बताउनुभयो ।
शैक्षिकसत्र विसं २०७९ देखि स्थानीय पाठ्यक्रम पूर्णरूपमा लागू गर्ने, स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षालय रहने नेपाल सरकारको नीतिअनुसार मादी गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्नका निम्ति सङ्घीय तथा प्रदेश सरकारसमक्ष आवश्यक पहल गरिने र पालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँचको सुनिश्चिता गरी क्रमशः प्रविधिको पहुँच पु¥याइने नीति कार्यक्रममा समावेश गरिएको छ ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

